९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


नेपाल र मलेसिया क्रिकेट फाइनलमा


0
Shares

पोखरा, माघ ९ । नेपाली राष्ट्रिय क्रिकेट टिमले माघ २२ गते देखि काठमाडौंमा हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक एक दिवसीय क्रिकेटका लागि मलेसिया विरुद्धको अभ्यास खेलमा सशक्त प्रदर्शन गरेको छ ।

क्यान प्रेसिडेन्ट ११ को नामबाट खेलेको नेपालले र मलेसिया सेक्रेटरी ११ को नामबाट खेलेको मलेसियामाथि मैत्रिपूर्ण तीन खेलको श्रृंखलामा क्लिनस्वीप गरेको छ ।

पोखरा रङ्गशालामा बिहीबार भएको तेस्रो तथा अन्तिम मैत्रिपूर्ण खेलमा नेपाल ५५ रनले विजयी भएको हो । यसअघि नेपाल पहिलो खेलमा एक सय ३४ रनले तथा दोस्रो खेलमा एक सय ७२ रनले विजयी भएको थियो ।

तेस्रो खेलमा पहिले ब्याटिङ्ग गरेको मलेसियाले ४३ ओभर ४ बलमा अलआउट हुँदै एक सय ५७ रन बनाउन सक्यो ।

भुषण विलास सेभले सर्वाधिक ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहराले ३ तथा ललित नारायण राजवंशी र कुशल मल्लले समान २/२ विकेट लिए ।

त्यस्तै कमल सिंह ऐरी र किशोर महतोले १/१ विकेट लिए । जवाफमा नेपालले २३ ओभर ५ बलमै ५ विकेटको क्षतिमा विजयी चुनौती पूरा गर्‍यो । रोहितकुमार पौडेलले ७० बलमा ८१ रन बनाए ।

नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक श्रृंखलाको लागि बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीलाई मलेसियासंग मैत्रिपूर्ण अभ्यास खेलको व्यवस्था मिलाएको हो ।