
काठमाडौं, मंसिर १९ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आइबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो । भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो ।
सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडो भन्दा चाँडो पु¥याउने कुरा चाँडै कार्यान्वयन गर्न पनि मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले ज्येष्ठनागरिकहरुलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिनुभयो ।
त्यस्तै सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकि जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । उहाँले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यक्ताअनुसार जुटाउन र प्रयोग भइसकेका कुराहरुलाई व्यवस्थित गर्न पनि निर्देशन दिनुभयो ।
सभापति घर्तीले अहिले राजनीतिक मुद्दा भन्दा पनि कोरोनाको तेस्रो भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्