८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मदरसा शिक्षालाई पाठ्यक्रममा समावेश गर्ने शिक्षामन्त्रीको प्रतिवद्धता


26
Shares

काठमाडौं, मंसिर २० । सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गरेर अघि बढाउने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रह समेत गर्नुभयो ।

मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी रुपान्तरण’ अध्ययन प्रतिवेदन सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा सार्वजनिक गर्दै मन्त्री पौडेलले संविधानले समावेशीताको कुरा सुनिश्चित गरेपनि त्यसलाई कार्यान्वयन गर्ने कामले गति लिन नसकेको स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिक दलहरु भित्रै संविधानको भावना अनुसार समावेशिताको सिद्धान्तलाई अंगिकार गरिसकेको अवस्था नरहेको स्विकार गर्नुभयो ।

मन्त्री पौडेलले मदरसा शिक्षाको रुपान्तरणका लागि आफूले केही मदरसा शिक्षालयमा अनुगमन गरेको पनि स्मरण गराउनु भयो ।

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले विद्यालय शिक्षालाई सुविधा सम्पन्न गराउने तर मदरसा शिक्षालाई बेवास्ता गर्ने काम सरकारबाट हुन नहुने बताउनुभयो । उहाँले अझै पनि मदरसा शिक्षालयमा बोरा ओछ्याएर पढनुपर्ने अवस्था रहेको भन्दै यो अवस्थाको अन्त्य गर्न मन्त्री पौडेलको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा मदरसा शिक्षालाई बेवास्ता गरिएको उल्लेख गर्दै सरकारको आलोचना गरिएको छ ।