
एजेन्सी । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमणको मामिला एकैदिन पाँच गुणाले बढेको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार आइतबार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन संक्रमित फेला परेका छन् । पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन संक्रमितको कूल संख्या ४ बाट २१ पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ । संक्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ । डब्लुएचओमा कार्यरत वैज्ञानिकहरुले यो डेल्टाभन्दापनि संक्रामक भएको बताएका छन् ।
नयाँ भेरिअन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलदेखि लिएर अन्य यातायात केन्द्रमा परीक्षण तथा स्क्रीनिङ् तेज पारिरहेका छन् । महाराष्ट्रको पुनेमा ओमिक्रोनका थप ७ मामिला आइतवार पुष्टि भएको थियो ।
तिनमा नाइजिरियाबाट भारत फर्किएकी एक महिला र उनकी आफन्तहरू तथा फिनल्यान्डबाट पुने आइपुगेका एक व्यक्ति छन् । राजस्थानको स्वास्थ्य विभागका अनुसार त्यहाँ दक्षिण अफ्रिकाबाट फर्किएको एक परिवार तथा तिनका सम्पर्कमा आएका व्यक्तिहरूको नमूनाको जीनोम सिक्वेन्सीङ् गर्दा ९ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
भारतको साथसाथै विश्वभरिका कैयन् देशहरूमा पनि ओमिक्रोन संक्रमणमा तेज वृद्धि पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्