२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेसमा आज संस्थापन र इतर समूहको बेग्लाबेग्लै बैठक

पार्टी चुनावको लागि प्यानल बनाउने कसरत

0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई टक्कर दिने साझा उम्मेदवार छनौट गर्न संस्थापन इतर समुहलाई सकस परेको छ । सोमबार र मंगलबार साझा उम्मेदवार छनौटका लागि छलफल भएपनि सहमति जुट्न सकेको छैन । बरु संस्थापन इतर समुहका नेताहरु नैं छलफलमा उपस्थित हुन छाडेका छन् ।

मंगलबारको बैठकमा महामन्त्री सशांक कोइरालाले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने हो भने आफु पछि हट्न तयार रहेको बताउनुभएको छ । यसले पौडेललाई केही राहत मिलेको छ भने समुहका अन्य नेताहरु चिढिएका छन् । शेखर कोइरालाले आजको बैठकमा भाग नलिने बताउनुभएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छलफल जारी राखेपनि हिजोमात्रै आफ्नो चुनावी सम्पर्क कार्यालय खोलेर पछि नहट्ने सन्देश दिनुभएको छ । अर्का उम्मेदवार बिमलेन्द्र निधीले त लामो समयदेखि यो समुहको बैठक बहिष्कार गर्नुभएको छ ।

विकसित घटनाक्रममले कांग्रेसको आसन्न १४ औं महाधिभवेशनमा संस्थापन इतर समुहबाट सभापतिको साझा उम्मेदवार हुने संभावना कमजोर देखिएको छ ।

यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो गुटबाट उम्मेदवार चयन गर्न आज गुट भेला बोलाउनु भएको छ । गुट भेला आज बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा हुने भएको छ ।

देउवाले सभापतिमा पुन आफैँ दोहोरिने घोषणा गरिसक्नु भएको छ । देउवा गुटमा सभापतिका दाबेदार उहाँ मात्रै एक्लो उम्मेदवार हुनुहुन्छ । संस्थापन पक्षमा यसअघिसम्म रहेका उपसभापति विमलेन्द्र निधिलाई देउवाले नसघाउने निश्चित भइसकेको छ ।

देउवा समूहले बैठकबाट उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा को उठ्ने भन्नेबारे टुंगो लगाउनेछ । उपसभापतिमा देउवा टिमबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारलाई अगाडि बढाउने तयारी छ । महामन्त्रीमा भने बालकृष्ण खाँण, रमेश लेखक, एनपी साउद, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले दाबी गरिरहेका छन् ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीको लागि दाबी पेश गरिसक्नु भएको छ । यसैगरी सहमहामन्त्रीमा भीष्मराज आङ्देम्बे, मोहनबहादुर बस्नेतलगायतले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

कांग्रेसको महाधिवेशन पर्सी शुक्रबारदेखि काठमाडौंमा हुँदैछ । शनिवार उम्मेदवारी मनोनयन दर्ता गरिनेछ भने आइतवार नयाँ नेतृत्व छान्न मतदान हुनेछ ।