९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


उपसभामुख राजपालाई, सापकोटालाई निर्विरोध सभामुख बनाउने कांग्रेस हिस्स !


0
Shares

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपसभामुख पद राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई दिने भएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा उपसभामुख भर्खरै आफूसँग लगनगाँठो जोड्न आइपुगेको दल राजपाका सांसदलाई बनाउने सहमति बनेको दाबी बालुवाटार स्रोतले गरेको छ ।

यद्यपि, कांग्रेसलाई उसभामुख दिँदा सदन सञ्चालनमा सहयोग पुग्ने धारणा अध्यक्ष दाहालले राखेका थिए । प्रधानमन्त्री ओलीले भने राजपालाई उपसभामुखसहित मन्त्रीहरु दिएर सरकारमा सहभागि गराउन सकिने धारणा राख्नु भएको बताइएको छ ।

राजपाले उपसभामुख लिने र सरकारमा पनि सहभागिताका लागि भने आफूले उठाउँदै आएको संविधान संशोधनको मुद्दाबारे सरकारको तर्फबाट प्रष्ट धारणा आउनुपर्ने नेताहरुले बताउने गरेका छन् ।

संघीय समाजवादीको बर्हिगमनसँगै राजपालाई सरकारमा ल्याउने कसरतमा नेकपाका नेताहरु जुटेका छन् । जसमा प्रधानमन्त्री निकट नेताहरुले राजपाका नेताहरुसँग छलफल चलाइरहेका छन् ।

राजपालाई सत्तामा उकाल्ने सोच अनुसार नै २ नम्बर प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन बनेको थियो । उम्मेदवारहरुले विजय पाएसँगै प्रधानमन्त्री निकट नेताहरुले गठबन्धनलाई जनताले अनुमोदन गरेकाले सरकारमा सहभागिताका लागि सजिलो भएको प्रतिक्रिया दिएका थिए ।

उता, उपसभामुखको लोभमा परेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा अग्नि सापकोटालाई निर्विरोध बनाउन सघाएको थियो । हत्या आरोप लागेको सापकोटालाई निर्विरोध बनाउन कांग्रेसले सभामुखको दावी नै छाडेकोमा नेतृत्वको तीब्र आलोचना भइरहेको छ ।

यस्तोमा उपसभामुख पाउने लोभमा फसेको कांग्रेस नेतृत्व हिस्स पर्ने देखिएको छ । उपसभामुख आफ्नो दललाई दिन माग गर्दै पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले दाहालसँग भेटवार्ता नै गरेका थिए । देउवाले त प्रधानमन्त्री ओलीसँग पनि यसबारेमा कुरा गरेका थिए ।

आफ्नै कार्यालयकी कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेपछि रिक्त रहेको सभामुख आफ्नो दलले लिन नेकपाले उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई पद त्याग्न लगाएको थियो ।

पार्टीको दबाबमा तुम्बाहाङ्फेले माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद रिक्त रहेको छ । सभामुख चयन गरिएपछि उपसभामुखको निर्वाचन प्रक्रिया थालिने छ ।

एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाउने संवैधानिक व्यवस्थाका कारण उपसभामुख फरक दलबाट चुन्नुपर्ने भएको हो ।