
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । राजधानीमा आज बिहान पत्रकार सम्मेलन गरी रिजालले उम्मेदवारी घोषणा गर्नुभएको हो । रक्षामन्त्री समेत रहनु भएका रिजालले संस्थापन इतर समूहबाट उम्मेदवारी घोषणा गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा उहाँले संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार बनाउने कोशिस जारी रहेको बताउनुभयो । उहाँले महाधिवेशनपछि देउवा निबर्तमान सभापति बन्ने पक्का रहेको जिकीर पनि गर्नुभयो ।
कांग्रेस महामन्त्रीमा गगन थापा र बालकृष्ण खाँडले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । खाँडले संस्थापन पक्षबाट उम्मेदवारी घोषणा गर्नुभएको हो भने थापाले आफ्नो कुनै समूह नरहेको जिकीर गर्नुभएको छ ।
उता, पार्टीमा छुट्टै गूट चलाउँदै आउनु भएका कृष्ण सिटौला भने संस्थापन समूहको उपसभापति बस्न तयार हुनु भएको छ । आफ्नो समूहको वैठकमा सिटौलाले आफू शेरबहादुर देउवा पक्षबाट उपसभापति बन्ने जानकारी दिनुभएको बुझिएको छ ।
बैठकमा सिटौलाले युवा नेता प्रदीप पौडेललाई सहमहामन्त्रीको उम्मेदवार बनाउने पनि बताउनुभएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्