२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


आज नेकपा माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिकसहित वटा १० प्रदेश सम्मेलन हुँदै

अध्यक्ष प्रचण्डले भर्चुअल रुपमा सम्मेलनको उद्घाटन गर्ने

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । अधिवेशनको दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ । प्रदेश–१ को विराटनगर, प्रदेश–२ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ । विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने बताइएको छ । प्रवास समितिको सम्मेलन भने आज नहुने बताइएको छ ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

प्रदेश –१ मा २५९, प्रदेश–२ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

माओवादीले यसअघि यही मंसिर ११ गते पालिका सम्मेलन सम्पन्न गरेको थियो । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।