
चितवन । चितवनमा एकै पटक दुई वटा महोत्सव हुने भएका छन् ।
कोरोनाका कालका कारण लामो समय पछि हुने महोत्सवले यहाँ उत्पादित वस्तुहरूको बजारीकरणमा जोड दिनेछ । कोरोना महामारीको जोखिम कम हुँदै गएको र खोप लगाउने नागरिकको संख्या बढ्दै गएपछि चितवनमा एकै समय दुइवटा महोत्सव हुने भएका छन् ।
कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत आर्थिक, सामाजिक सांस्कतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागिएको हो ।
उत्पादित वस्तुलाई देशभर चिनाउदै बजारीकरण गर्न महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको भनाइ छ । चितवन महोत्सवकै कारण पोल्ट्रीमा आत्मनिर्भर बन्दै ६० प्रतिशत भन्दा बढी माग चितवनबाट आपूर्ति हुँदै आएको छ ।
तरकारी, माछा, मह लगायतका उत्पादित वस्तुको बजारीकरण सँगै औद्योगिकरणमा महोत्सवले सहयोग पुर्याउने विश्वास आयोजकको छ । उद्योग वाणिज्य संघ चितवनले १३औं संस्करणको चितवन महोत्सव यही पुष २५ देखि माघ ४ गतेसम्म र रत्ननगर उद्योग वाणिज्य संघले ११औं संस्करणको रत्ननगर महोत्सव पौष २७ देखि माघ ८ गतेसम्म गर्ने भएका छन् ।
दुवै महोत्सवले चितवनमा चर्चा पाएका र यहाँ उत्पादित वस्तुलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुर्याउन मद्धत गर्ने रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठको दाबी छ ।
उद्योग वाणिज्य संघ चितवनले २०५३ र रत्ननगरले २०५७ सालदेखि महोत्सव गर्दै आइरहेको छ । तर, कोरोनाका कारण गत वर्ष हुन नसकेको महोत्सव यो पटक गरिदैछ । एकै समयमा हुन लागेको महोत्सवले बिशेषगरी यहाँका उत्पादनको प्रचारप्रसारमा जोड दिने उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष सहनलाल प्रधानको भनाई छ ।
स्थानीय प्रशासनले समेत अनुमति दिएर महोत्सवको तयारीमा जुटेको आयोजकले ओमिक्रोन फैलिदै गए के गर्ने भन्ने योजना भने अहिलनै बनाएको छैन । तर एउटै जिल्लामा ठूला महोत्सव एकै समय हुनुले कति फाइदा कुन कुन कुरामा पु¥याउँछ त्यो भने पर्खाइकै विषय रहेको छ ।
प्रतिक्रिया दिनुहोस्