२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्यान्चेस्टर सिटी, लिभरपुल, आर्सनल र चेल्सी विजयी

अंक तालिकामा म्यान सिटीको अग्रता कायमै

0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति शिर्ष क्लबहरु म्यान्चेस्टर सिटी, लिभरपुल, चेल्सी, म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी भएका छन् ।

शिर्ष स्थानको म्यान्चेस्टर सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । सिटीको जितमा राहिम स्टर्लीङले ६६ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । गएरातिको अर्को खेलमा मोहमद सलाहले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि लिभरपुलले एस्टन भिल्लालाई १–० ले पराजित ग¥यो । यही खेलमार्फत लिभरपुलका पूर्व खेलाडी स्टेभेन जेरार्डले एस्टन भिल्लाको प्रशिक्षकको रुपमा डेब्यु गरेका छन् ।

प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३–२ ले हरायो । चेल्सीको लागि जर्गीनोले पेनाल्टीमार्फत दुई गोल गर्दा मेसन माउन्टले एक गोल थपे । लिड्स युनाइटेडका राफिन्हा र गेल्हार्टले एक एक गोल गरे । यसैगरी म्यान्चेस्टर युनाइटेडले नरिच सिटीलाई १–० ले हराउँदा आर्सनलले साउथह्याम्पटनमाथि ३–० को जित निकाल्यो ।

गएरातिका खेलहरुपछि प्रिमियर लिगको अंक तालिकामा १६ खेलबाट ३८ अंक जोडेको म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको ३७ अंक छ भने ३६ अंकसहित चेल्सी तेस्रो स्थानमा रहेको छ । २७–२७ अंक जोडेका वेष्ट ह्याम यु्नाइटेड र म्यान्चेस्टर युनाइटेड क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् । २६ अंकसहित आर्सनल छैटौं स्थानमा छ ।