
काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत नेपालमा आज १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउने भएको छ । गत बिहीबार र शुक्रबार गरी ३६ हजार ६ सय डोज मोडर्ना खोप आइसकेको छ । सरकारले यो खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरेको छ । देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्ने स्वास्थ्य विभागले जनाएको छ ।
हिमाली जिल्लामा सय भन्दा बढी विद्यार्थी भएको विद्यालय र बाँकी जिल्लामा २ सय बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र तोक्ने मापदण्ड तय गरिएको छ । तर फाइजर खोप लगाउन शुरु गरिएका काठमाडौं, भक्तपुर, ललितपुर, सिन्धुली, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की, बागलुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा भने मोर्डनाको खोप लगाईने छैन । ती जिल्लाहरुमा फाइजरको थप खोप आएपछि पुनः खोप अभियान संचालन गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्