२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कांग्रेस सभापतिमा उम्मेदवारी दिने प्रकाशमान सिंहको यस्तो छ बायोडाटा


0
Shares

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
प्रकाशमान नेपाली कांग्रेसका सर्वाेच्च नेता गणेशमान सिंह र नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहका सुपुत्र हुनुहुन्छ । विक्रम संवत २०१२ मा काठमाडौंको क्षेत्रपाटीमा जन्मनु भएका प्रशमानले स्नातकोत्तर तह सम्मको अध्ययन गर्नुभएको छ ।
उमेरले ६६ वर्ष टेक्नु भएका प्रकाशमान राजनीतिमा निकै सक्रिय नेताका रुपमा चिनिनुहुन्छ । प्रकाशमान अहिले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुन्छ ।

उहाँलाई कांग्रेसको पारिवारिक विरासतबाट राजनीतिमा आए पनि पार्टीमा दुःख गर्नसक्ने र कार्यकर्ताको भावना बुझ्न सक्ने नेताका रुपमा लिने गरिन्छ । प्रकाशमानको राजनीतिक थलो काठमाडौं भए पनि देशभरका कार्यकर्तासँग सहज रुपमा उपलब्ध हुने नेतामा लिइन्छ ।वि.स. २०३० सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन शुरु गर्नुभएका प्रकाशमान २०३६ सालमा नेविसंघको काठमाडौं जिल्ला सभापति हुनुभएको थियो । विद्यार्थी जीवनबाट उहाँ २०३८ सालमा पार्टीको राजनीतिमा प्रवेश गर्नु भएको थियो । २०३८ सालमा कांग्रेस काठमाडौं जिल्ला सदस्य,२०४३ मा सचिव र २०४५ मा प्रकाशमान कांग्रेस काठमाडौंको सभापति बन्नु भएको थियो ।

२०५७ सालमा पोखरामा भएको कांग्रेसको १० औं महाधिवेशनबाट उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०५८ सालमा शेरबहादुर देउवाले कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा प्रकाशमान उपसभापति बन्नु भएको थियो । २०६४ सालमा देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसले नेपाली कांग्रेससँग पार्टी गर्दा पनि प्रकाशमान उपसभापति नै हुनुभयो ।

२०६७ सालमा भएको कांग्रेसको १२ औँ महाधिवेशनमा प्रकाशमानले महामन्त्रीमा चुनाव जित्नु भएको थियो । त्यतिबेला सुशील कोइरालाले सभापतिमा जित्नुभएको थियो । १३ औँ महाधिवेशनमा शेरबहादुर देउवा सभापतिमा विजयी हुँदा प्रकाशमान केन्द्रीय सदस्य बन्नुभयो ।
प्रकाशमान निकटका एक नेता नेताका अनुसार ‘प्रकाशमान राजनीतिमा छक्कापञ्जा गर्न नजान्ने, सिधाबाटो हिँड्ने नेतामा पर्नुहुन्छ ।’
२०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उहाँलाई बयानका लागि शाही आयोगले बोलाएको थियो ।

तर प्रकाशमान जानुभएन । देउवाले शाही आयोगले बोलाएपछि जानुपर्छ नत्र जीवन तलमाथि हुनसक्छ भन्दा पनि प्रकाशमान नजाने अडानमै रहनुभयो । पछि गिरिजाप्रसाद कोइरालाले अडान लिएको भन्दै प्रकाशमानको प्रशंसा गरेका गर्नुभएको थियो । पार्टी महामन्त्री र उपसभापति भैसक्नु भएका प्रकाशमानलाई त्यसबाट तल झर्ने अवस्था थिएन । उक्लिने पद भनेको पार्टी सभापति नै हो ।

प्रकाशमानले २१ फागुन २०७४ मा देउवासँग कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्नुभएको थियो । देउवाले ४४ मत ल्याएर विजयी हुँदा प्रकाशमानले १९ मत मात्रै प्राप्त गर्नुभएको थियो । प्रकाशमान संघीय मामिला तथा उपप्रधानमन्त्री र स्थानीय विकास मन्त्री पनि भइसक्नु भएको छ । प्रकाशमानलाई धेरैले पार्टीमा देउवा र रामचन्द्र पौडेलपछिको नेताका रुपमा लिनेगरेका छन् ।

तर पौडेल कांग्रेसको आन्तरिक प्रतिस्पर्धाको राजनीतिबाट १४ महाधिवेशनबाट बाहिरिनु भएको छ ।