१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


भोटको राजनीतिमा युवा उपयोग, निर्णायक भूमिकामा हस्तक्षेप


39
Shares

मिरा बस्नेत
काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको सारथीमा उम्मेदवारी दिएका डा. शेखर कोइरालाले पाकाको होस र युवाको जोस संयोजन गर्दै पार्टी अघि बढाउने प्रतिवद्धता प्रकट गरिरहँदा सातदशक नाघेका नेताको छत्रछायाँमा युवाले उम्मेदवारी दिनुपर्ने बाध्यता छ । पार्टीमा सार्वजनिक छवि बनाएका युवा नेताहरुले पनि गुटभित्रै आफ्नो भविष्य देखेका छन् ।

सभापतिका प्रत्याशी शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमानसिंह समूहमा विद्यार्थी राजनीतिबाट उदाएका प्रदीप पौडेल, गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीका दावेदार हुनुहुन्छ । यी पात्र युवापुस्ताको महत्व जाहेर गर्न नभएर भोटको राजनीतिका लागि उपयोग गरिएका पात्र प्रमाणित भएका छन् । सार्वजनिक भाषणमा युवापुस्ताको स्वामित्वका विषयमा बहस भएपनि निर्णायक क्षणमा उनीहरुको भूमिका हस्तक्षेपकारी नभएर याचकजस्तो देखिने गरेको छ । नेतृत्वमा जान कुनै न कुनै नेताको शरण पर्नुपर्ने बाध्यता रहेको युवा प्रतिनिधिकै स्वीकारोक्ति छ ।

त्यसो त महाधिवेशन प्रतिनिधिमा सयौंको संख्यामा युवा नछानिएका होइनन । राजनीतिक परिवर्तन खातिर हुने हरेक आन्दोलनमा अघि बढाइने युवा अवसरका घडीमा किन पछाडि धकेलिन्छन ? यो प्रश्नले भरलाग्दो उत्तर नपाएको दशकौं भइसक्यो । यद्यपि मतदाताहरु अग्रजको अनुभव र युवाको जोश मिश्रित गरेर अघि बढ्नुपर्ने बताउँछन् ।

२१ औं शताब्दीको नेतृत्व फगत संख्या मात्र नभएर विचारको सम्मान पनि हो । यो भोटले ठूलो संख्यामा रहेको जनताको अभिमत पनि प्रतिनिधित्व गर्छ । त्यसैले उनीहरुको भविष्य सुरक्षित राख्ने दायित्वबोध गर्नु जरुरी छ ।