१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लगानीकर्ताको लगानी संरक्षणका लागि सरकार सधै गम्भीर : अर्थमन्त्री शर्मा


143
Shares

काठमाडौं, मंसिर २७ । अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारका लगानीकर्ताको लगानीको संरक्षणका लागि सरकार सधैँ गम्भीर रहेको बताउनुभएको छ ।

शेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै बजारमा अनियमितता गर्नेविरुद्ध छानबिन गरेर कारबाही गरेको उल्लेख गर्नुभयो । बीमा समितिको कार्यालय भवन शिलान्यास गर्ने क्रममा उहाँले मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पार्दै लगानीकर्तालाई हल्लाको पछि नलागी ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।

सरकारले ८० प्रतिशत अनुदान दिंदासमेत कृषि बाली बीमा बढ्न नसकेको प्रति अर्थमन्त्री शर्माले असन्तुष्टि व्यक्त गर्नुभयो । बीमा कम्पनी र नियमनकारी नियकायको उचित ध्यान नजाँदा कार्यान्वयनमा समस्या आएको भन्दै उहाँले बेमौसमी वर्षाका कारण भएको बाली नष्टले सरकारको काँधमा ठूलो दायित्व थपिएको बताउनुभयो ।

कोरोना बीमाको भुक्तानी समस्याले पनि बीमाको छबिमा नकारात्मक असर परेको प्रति गम्भीर हुन अधिकारीहरुलाई सचेत गराउनुभयो । बीमा सम्बन्धी ऐन कानून समय सापेक्ष परिमार्जन आवश्यक भएकोमा उहाँले जोड दिनुभयो ।