
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । सभापति पदका लागि सुरुवाती परिणाममा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म २ हजार मत गणना हुँदा करीब १ हजार मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका शेखर कोइरालाको ४ सय ८२ मत भएको छ । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्याण गुरुङले ४ मत ल्याउनुभएको छ ।
आज बिहान ४ बजेदेखि सभापतिको मतगणना सुरू गरिएको हो । गएराति साँढे ११ बजेसम्म भएको कांग्रेस निर्वाचनमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । सभापति पदमा निर्वाचित हुन ५० प्रतिशत मत ल्याउन आवश्यक हुने भएकाले जित्न २३ सय ४० मत ल्याउनुपर्छ । सभापतिको मतगणना सकिँदा कसैले ५० प्रतिशत मत कटाउन नसके फेरि अर्को चरणको मतदानमा जानुपर्छ ।
दोस्रो चरणमा शिर्ष दुई उम्मेदवारविच प्रतिस्पर्धा हुन्छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिष्पर्धामा हुनुहुन्छ । सभापतिको मतगणना राजधानीको राष्ट्रिय सभागृहमा भइरहेको छ । सभापतिको मतगणना सकिएपछि मात्रै अन्य पदहरुको गणना गरिने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्