२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दोस्रो चरणमा नतिजा आफ्नो पक्षमा आउने शेखरको दाबी, परिणाम जेसुकै आएपनि स्वीकार्ने


520
Shares


काठमाडौं । काँग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा आफू विजयी हुने दाबी गर्नुभएको छ ।

मंगलबार काठमाडौंको नागपोखरी स्थित एक होटलमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले परिणाम जस्तोसुकै आए पनि आफू स्वीकार्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्नपनि महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्नुभयो । निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा रहने, नेपाली जनता र लोकतन्त्रको सुनिश्चितता तथा आगामी पुस्ताका लागि समग्र जीवन आहुति गर्ने कोइरालाको भनाई छ ।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका शेरबहादुर देउवा, कोइराला, विमलेन्द्र निधि प्रकाशमान सिंह र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि आज सभापतिको लागि दोस्रो चरणको मतदान हुन लागेको हो ।पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।

अब धेरै मत ल्याउने देउवा र शेखरबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुन लागेको हो । सोमबार कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।

देउवालाई पहिलो चरणमा जितका लागि ८२ मत पुगेको थिएन । देउवाले निधि,सिंह र गुरुङलाई आफ्ना लागि समर्थन जुटाइसक्नु भएको छ । दोस्रो चरणमा देउवा र कोइरालामध्ये कसले बाजी मार्ला भन्ने चासो बढेको छ ।दोस्रो चरणको मतदान आज साढे ३ वजेबाट शुरु हुँदैछ ।