२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेन : खिमलाल भट्टराई


117
Shares

काठमाडौं, मंसिर २८ । राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताउनु भएको छ ।

मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न नसकेको दाबी गर्नुभयो । उहाँले सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढीरहेको आरोप लगाउनुभयो ।

उहाँले सभामुखको अकर्मण्यताबाट संघीय संसद पनि प्रभावित रहेको र सही ढंगबाट चल्न नसकेको बताउनुभयो । उहाँले सरकार र सभामुखले संसद चलाउन नचाहेको आरोपसमेत लगाउनुभयो । देश सरकार बिहीनताको अवस्थामा रहेको भन्दै अहिले जनताले सरकार छ र ? भन्न थालेको समेत बताउनुभयो ।

सांसद भट्टराईले सरकार मन्त्री र उनीहरुको परिवारको लागि मात्रै भएको बताउनुभयो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।