२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


सामाजिक सञ्जालमा नक्कली लोगो प्रयोग गरी भ्रामक सामग्री सम्प्रेषण भइरहेकोमा एमसिएको आपत्ति


78
Shares

काठमाडौं, मंसिर २८ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल)ले आफ्ना विरुद्ध क्रमवद्ध रुपमा भ्रामक सामग्री सम्प्रेषण भइरहेकोभन्दै गम्भीर आपत्ति जनाएको छ ।

एमसिए–नेपालका सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरी जनाएको हो ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमार्फत समितिका लागि खरिद तथा वित्तीय एजेण्टका रूपमा परामर्श सेवा उपलब्ध गराइरहेको कार्डनोको लोगोसहित नक्कली कागजपत्र प्रयोग गरी सामग्री सम्प्रेषण गरिएको पाइएको संस्थाले जनाएको छ ।

उक्त सामग्रीमा कार्डनोको परिचयका रूपमा भ्रामक जानकारी उल्लेख गरिनुका साथै एमसिए–नेपालको सुरक्षा व्यवस्था सम्बन्धी सेवा आपूर्तिका लागि तयार गरिएको दस्तावेजलाई गलत अर्थ लाग्ने गरी कपोलकल्पित कुरा उल्लेख गरिएको एमसिए नेपालले जनाएको छ ।

साथै उक्त सामग्रीमा उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको पनि एमसिए–नेपालले प्रष्ट पारेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने निन्दनीय प्रवृत्तिप्रति एमसिए–नेपाल गम्भीर भत्र्सना गर्दछ–विज्ञप्तिमा भनिएको छ । साथै यस्ता गलत सूचना फैलाउने कुत्सित मनसाययुक्त भ्रामक सन्देश सम्प्रेषक विरुद्ध कडा कानुनी कारवाहीका लागिप्रक्रिया अगाडि बढाइसकेको पनि संस्थाले जनाएको छ ।