१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


खुबीका कारण सभापतिमा देउवाले जित्नुभयो : महत


442
Shares

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको छ ।

बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जित्नुभएको बताउनुभएको हो ।

देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उहाँले बताउनुभयो । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उहाँको भनाई छ ।

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । देउवालाई बधाई दिन बालुवाटार पुग्नुभएका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो ।

नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताउनुभयो ।