
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका लागि बिमलेन्द्र निधि र प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गर्दा अव कांग्रेसमा पक्कै नेतृत्व परिवर्तन हुन्छ भन्ने आशा राखेका थिए ।
उम्मेदवारी दिदा जुन रुपमा दुबैले नेतृत्व परिवर्तनको कुरा गरेका थिए । अन्तिममा आएर नेतृत्व परिवर्तन होइन दुबै जना बदलिए ।कांग्रेसको १४ महाधिवेशन अन्तर्गत गत सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका उम्मेदवार बनेका शेरबहादुर देउवा,डा शेखर कोइराला,निधि सिंह र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि सभापतिका लागि मंगलबार दोस्रो चरणको मतदान भएको हो । त्यसमा देउवाले बाजी मारे ।
पहिलो चरणमा देउवाले २२५८, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत प्राप्त गर्नुभएको थियो । कांग्रेसमा पहिलो चरणमा सभापतिका उम्मेदवारले ५० प्रतिशत मत नकटाए दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने प्रावधान छ ।
पहिलो चरणमा कांग्रेसका ४६७९ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए । जसमा ७६ मत बदर भएको थियो ।
देउवालाई पहिलो चरणमा जितका लागि ८२ मत पुगेको थिएन । आफूलाई ८२ मत नपुगेपछि देउवाले दोस्रो चरणमा जित निकाल्ने रणनीति अन्तर्गत निधि र सिंहको सहयोग मागे । देउवाले पहिलो चरणको मतगणना सकिने बित्तिकै दोस्रो चरणका लागि रणनीति बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा आफू निकटसँग सरसल्लाह गरे निधि र सिंहलाई आफ्नो पक्षमा पार्न देउवा आफै दुबै जनाको निवासमा पुगे ।
अन्ततः नेतृत्व परिवर्तन गर्नुपर्ने र केहि समय अघिदेखि देउवाको विरोधी बनेका निधि र सिंहले देउवासँग चोचोमोचो मिलाए । देउवालाई समर्थन गर्न पुगे । नेतृत्व परिवर्तन गर्ने बाटोमा लागेका भनिएका निधि र सिंहको देउवाले भेट्ने बित्तिकै मन परिवर्तन भयो । दुबैले देउवालाई दोस्रो चरणको मतदानमा समर्थन गर्ने घोषणा गरे । अर्का उम्मेदवार गुरुङ पनि देउवाकै पक्षमा खुले । दोस्रो चरणको मतदानमा देउवाले २७३३ र कोइरालाले १८५५ मत पाए ।
सिंह र निधिले देउवालाइ सघाउँदै गर्दा कांग्रेस नेता कार्यकर्तालेनै तीन जनाबीच लेनदेन भएको हुनसक्ने आशंका गरेका छन् । सिंहलाई आगामी दिनमा पार्टीमा स्थापित गर्न देउवाले विभिन्न आश्वाशन दिएको हुनसक्ने आशंका छ । यस्ता समाचार बाहिर आएपछि सिंहले देउवाले आफ्नो कार्यशैली परिवर्तन गर्छु भनेकाले देउवालाई सघाएको भन्ने स्पष्टीकरण दिनुभएको छ । तर सिंहको भनाइ पत्याउन कार्यकर्ता तयार छैनन् । कांग्रेस एक नेताले ईमेजखबरसँग भने “पछिल्ला दिन देउवाको प्रखर आलोचक बनेका सिंहले त्यति सहजै देउवालाई सहयोग गरेका होइनन्,त्यो त भविष्यमा देखिन्छनै ।” देउवाले १५ औं महाधिवेशनमा सिंहलाई सघाउने,सरकारमा उपप्रधानमन्त्रीको पद दिने लगायतका आश्वाशन दिएका ती नेताको दाबी छ ।
उता निधिले पनि देउवालाई निशर्त सघाएको दाबी गरेका छन् । विगतमा देउवा समूहमै रहेका निधि सबैभन्दा पहिला १४ औं महाधिवेशना लागि उम्मेदवारी घोषणा गर्ने नेता हुन् । निधिले गत भदौ ११ गते सभापतिमा उम्मेदवारी घोषणा गरेका थिए । कांग्रेसको १४ औं महाधिवेशनको अघिल्लो दिनसम्म निधि देउवाकाविरुद्ध कुर्लिएका थिए । तर आखिरमा उनी पनि लेनदेनमै परेका कांग्रेस नेताहरुको दाबी छ ।
सिंह र निधिको अब कुन गुट ?
संस्थापन इतर अर्थात देउवाको विपक्षमा रहेको गुटमा लागेका सिंह अब कता लाग्लान भन्ने सबैको चासो रहेको छ । संस्थापन इतरको गुटको नेतृत्व गर्दै आएका रामचन्द्र पौडेल गुटबाट बाहिरिएका छन् भने अब संस्थापन इतरबाट शसक्त रुपमा डा. शेखर कोइराला उदाएका छन् । कतिपय कांग्रेस नेताहरुले सिंह देउवा गुटमै फर्किएको बताएका छन् । कतिपयले उनी यता न उता भएको बताएका छन् । यस्तो अवस्थामा भोलि उनलाई कार्यकर्ताले कसरी मूल्यांङकन गर्लान त्यो समयले नै देखाउला ।
त्यस्तै निधि पनि अस्थीर देखिए उनले आफैले महाधिवेशनको अघि जसरी पनि देउवालाई सभापतिमा आउन नदिने बताएका थिए । तर आफूले के बोलेको भन्ने बिर्सिए र देउवाको पक्षमा लागे २०७४ पछि देउवासँग टाढिएका निधि अब के गर्लान त्यो पनि चासोको विषय बनेको छ । निकै तामझामका साथ उम्मेदवारी दिएका दुबै जनालाई कार्यकर्ताले खासै पत्याएको पनि देखिएन । निधिले २४९ मत ल्याउँदा उता सिंहको ३७१ मत आयो । तर जे भएपनि कांग्रेसमा प्रजातान्त्रिक स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको छ ।
अब चार वर्ष कांग्रेस हाक्ने जिम्मा फेरि देउवाकै हातमा आएको छ । तर आम कांग्रेस नेता कार्यकर्ताको नेतृत्व परिवर्तनको चाहनालाई भने तत्कालका लागि निधि र सिंहले रोकेका छन् । अवका दिनमा कार्यकर्ताको भावना निधि र सिंहले बुझ्न सक्लान कि नसक्लान ? वा व्यक्तिगत लाभ हानीलाई मात्रै ध्यान देलान त्यो भने थाहा हुँदै जाने कांग्रेस नेताहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्