
जनकपुर, मंसिर २९ । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नामकरण र स्थायी राजधानी चाँडै टुंगिने बताउनुभएको छ ।
बुधबार सुरु भएको प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले यही अधिवेशनले प्रदेशको नामकरण र राजधानीको टुंगो लाग्ने बताउनुभएको हो ।
प्रदेशको नामकरण नहुँदा आफूहरुलाई घोच्याउने गरेको बताउँदै उहाँले विपक्षी दल र सरकारमा रहेका दलहरु घनीभूत बैठक गरेर टुंग्याउनुपर्ने बताउनुभयो । नामको टुंगो नलाग्दा प्रदेश २ या २ नम्बर प्रदेश भनिंदै आएको र यसले आफैंलाई नै घोच्ने र पीडा हुने देखिएको उहाँको भनाइ छ ।
यसअघि बैठकमा प्रदेश सरकारले ल्याएको दुईवटा अध्यादेशको विरोधमा विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
प्रदेशसभाको चालु अधिवेशनको पहिलो बैठकमा दलहरुको तर्फबाट धारणा राखेपछि सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कृषि र विज्ञान प्रविधिसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभयो । लगत्तै लोसपा सांसदहरुले प्रदेश बैठक अवरुद्ध गरेका हुन् ।
लोसपा सांसद परमेश्वर साहले प्रदेश सभा अधिवेशन अन्त्य गरी अध्यादेश ल्याउनु अलोकतान्त्रिक रहेको भन्दै यसलाई दर्ता हुन नदिने बताउनुभयो । उहाँले अध्यादेश फिर्ता नहुँदासम्म संसद चल्न नदिने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्