
काठमाडौं, मंसिर २९ । सुदूरपश्चिम प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात सात लाख ५१ हजार ८ सय ११ नागरिकले कोरोना विरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् ।
लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात ९ लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप लगाएका छन् ।
१८ वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसङ्ख्या झण्डै १९ लाख छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताउनुभयो ।
प्रदेशका १२ देखि १७ समूहका बालबालिकालाई फाइजर र मोडना खोप दिने तयारी पनि गरिएको छ । कोरोनाको नयाँ रुप ‘ओमिक्रोन’ को सम्भावित जोखिमको रोकथामका लागि सीमा नाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको छ ।
सीमा नाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ । प्रदेशका कुनै पनि सीमा नाकाबाट भित्रिने नागरिकमा अहिलेसम्म नयाँ भेरिएन्टको कोरोना सङ्क्रमण भएको पुष्टि भएको पाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्