
काठमाडौं, मंसिर २९ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा बर्खे धानको उत्पादनमा वृद्धि भएको छ ।
जिल्लामा धान खेती हुने क्षेत्रफल घटेको भए पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले जिल्लामा गत वर्षभन्दा यस वर्ष धान खेती भएको क्षेत्रफल ९० हेक्टरले घटेको भएपनि उत्पादन भने एक हजार ३ सय ७४ मेट्रिक टनले वृद्धि भएको जानकारी दिनुभयो ।
लामिछानेका अनुसार यस वर्ष जिल्लामा २० हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा लगाएको धान खेतीबाट ८२ हजार ९ सय ४४ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष २० हजार ६७० हेक्टर क्षेत्रफलमा लगाएको धानखेतीबाट ८१ हजार ५ सय ७० मेट्रिक टन उत्पादन भएको लामिछानेले बताउनुभयो ।
धान लगाउने बेलामा समयमै पानी पर्नु, प्राङ्गारिक मलको प्रवद्र्धन हुनु, माटोको गुणमा सुधार आउनुलगायत कारणले यस वर्ष जिल्लामा धानको उत्पादन बढेको हो । जिल्लाको धान खेती गरिएको कूल क्षेत्रफलमध्ये ५५ प्रतिशत जमिनमा सिँचाइ सुविधा उपलब्ध छ ।
जिल्लामा बढेको प्लटिङ, तरकारी खेतीतर्फ किसानको आकर्षणजस्ता कारणले धान खेतीको क्षेत्रफलमा कमी आएको छ । ज्ञान केन्द्रले धान खेती गर्ने किसानका लागि अनुदानमा बीउ, मल, सिँचाइलगायत सुविधा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्