२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भीम रावलले पार्टीको जिम्मेवारी लिन तत्परता देखाउनुभएन : शंकर पोखरेल


1.625k
Shares

काठमाडौं, पुष २ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताउनु भएको छ ।

महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने वित्तिकै पार्टीले आवश्यक छलफल गरेर उहाँलाई जिम्मेवारी दिने पनि स्पष्ट पार्नुभयो । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रिय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न सक्ने धारणा समेत राख्नुभयो ।

हाललाई उहाँ नीतिगत रुपमा पार्टीको केन्द्रिय सल्लाहकार परिषद सदस्य रहनु भएको पनि महासचिव पोेखरेलले जानकारी दिनुभयो । उहाँले पार्टीका नेताहरुको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी गर्नुभयो ।

महासचिव पोखरेलले समक्ष नेताहरुको विशाल पंक्ति भएकाले जिम्मेवारी दिने कुरामा तलमाथि भएपनि पार्टीका नेताहरुको कार्य विभाजनमा कुनै पनि प्रकारणको विभेद नरहेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? पनि सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । त्यसको जवाफमा उहाँले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरुले यस्तो प्रश्ननै नगर्ने तर्क समेत गर्नुभयो । एकसेएक नेताहरु भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भएपनि त्यसलाई नै लिएर पूर्वमाओवादी वा दश बूँदे सहमती गरेर आएका नेताहरुको समूहलाई विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाई थियो ।

महासचिव पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनुभयो । माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने उहाँको भनाई थियो ।