१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुग्ध उद्योगमार्फत इलाम चिनाउने शिवलाल सर


520
Shares

इलाम । शिवलाल प्रधान पेशाले शिक्षक थिए । शिक्षक भए पनि परम्परागत पेशा गाईपालन पनि सँगसँगै गर्दै थिए । घरमा उत्पादन भएको दूध दुग्ध विकास संस्थानको दूग्ध वितरण आयोजना विराटनगरले खरिद गर्थ्याे ।

०५६ सालमा दुग्ध विकास संस्थानले हप्ताको तीन दिन ‘मिल्क होलिडे’ गरेपछि प्रधानका लागि घरमा उत्पादित दूध मुल्यहीन बन्यो । अनि दूध प्रशोधन गरी आफैँ दुग्ध परिकार बनाउने योजना बनाए । ‘मिल्क होलेडे’बाट हैरान प्रधानले इलाम आउने पर्यटकलाई लक्षित गरी कोसेलीकै रूपमा ललिपप बनाउन सुरु गरे ।

उद्योग दर्ता थिएन, प्राविधिक ज्ञान नभइकनै प्रधानले २०६२ सालसम्म दूग्ध पदार्थ उत्पादन गर्नु फलामको चिउरा चपाएझैँ भयो । दूध प्रशोधनबाट बनेको कुराउनीबाट ललिपप बनाउँदै आएका प्रधानलाई घरेलु तथा साना उद्योग विकास समिति २०६२ मा तालिम र प्राविधिक सहयोग गरेपछि अहिले उद्योगका परिकार देश विदेश पुग्न थालेका छन् ।

ललिपप इलाम आउने पर्यटकले अधिक मन पराएपछि समितिले उद्योगको नाम पनि कोशेली ललिपप उद्योग राखिदियो । ललिपप मात्रै उत्पादन हुँदै आएको प्रधानको उद्योगमा अहिले पनिर, घिउ, छुर्पी र बम्बइसन उत्पादन हुन्छ । उक्त सामाग्री इलाम घुम्न आउनेहरूले फर्केर जाँदा कोसेलीका रूपमा लिएर जाने गरेका प्रधानको भनाइ छ ।

उद्योगमा अहिले ४ सय लिटर दूध प्रशोधन हुन्छ । जसमध्ये २५ प्रतिशतबाट घिउ र छुर्पी तथा ७५ प्रतिशतबाट ललिपप र बम्बइसन बन्दै आएको छ । उद्योगमा ११ महिलाले रोजगारी पाएका छन् ।