
काठमाडौं । नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजबाट शूरु हुँदैछ ।
नेतृत्व चयनका लागि भने भोली मतदान हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन अघि प्रदेश २ को अधिवेशन हुन नसकेपछि त्यसलाई महाधिवेशन पछि गर्नेगरी सारिएको थियो ।प्रदेश सभापतिका लागि सभापति शेरबहादुर देउवा अर्थात संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच प्रतिपर्धा हुने देखिएको छ । कांग्रेसको १४ औं महाधिवेशनमा पनि सभापति निर्वाचत देउवा र सभापतिमा पराजित डा. शेखर कोइराला पक्ष तथा समापतिमै पराजित नेता विमलेन्द्र निधि पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यी तीनै पक्षका लागि प्रदेश २ को नेतृत्वमा आफू समर्थक नेतालाई जिताउन प्रतिष्ठाको विषय बनेको छ । देउवा पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादव र निधिले प्रदेश २ कांग्रेस संसदीय दलका नेता रामसरोज यादवलाई प्रदेश सभापतिका लागि अघि सारेको छ । कोइराला पक्षले भने अहिलेसम्म उम्मेदवार तय गरेको छैन् । कोइराला पक्षका एक नेताका अनुसार सभापतिमा निधिले अघि सारेका उम्मेदवारलाई सघाएर अरु पदमा कोइराला र निधिबीच सहमति हुनसक्नेछ । निधिले कांग्रेस महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदानमा देउवालाई सघाएपनि प्रदेश २ मा भने देउवा र निधिबीच सहमति हुन सकेको छैन ।
आफूलाइ केन्द्रीय सभापति बन्न कृष्ण यादवले सघाएकाले उनलाई जसरी पनि प्रदेश सभापति बनाइछाड्ने रणनीतिमा देउवा रहनु भएको छ भने आफ्नो गृह प्रदेश समेत रहेकाले आफूले अघि सारेका उम्मेदवार रामसरोजलाई जिताउनु पर्ने निधिको रणनीति छ । उता कोइराला पक्ष पनि देउवालाई भन्दा निधिलाई नै सघाउने भन्नेमा रहेपनि कोइराला र निधिबीच पनि गठबन्धन बनिसकेको त छैन । तर वार्ता र छलफल भने भइरहेको निधि पक्षका एक नेताले ईमेज खबरलाई जानकारी दिए । उनका अनुसार निधिले अघि सारेका उम्मेदवारलाई देउवाले नसघाउने भएपछि महाधिवेशनमा दोस्रो चरणको मतदानमा देउवालाई सघाएका निधि र देउवाबीचको सम्बन्धमा फेरि दरार उत्पन्न भएको छ ।
प्रदेश २ मा ३२ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभापतिको अधिवेशनका कांग्रेस विधान अनुसार महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता रहने व्यवस्था छ । त्यो अनुसार २ हजार ७० जना कंग्रेसका मतदाता रहेका छन् ।
देउवा,कोइराला र निधिले प्रदेश २ को नेतृत्व छनोटलाई आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । निधिलाई गृह प्रदेशमा आफू बलियो बन्नुछ भने कोइरालालाई जसरी पनि देउवा समर्थकलाई रोक्ने भन्ने छ । त्यस्तै देउवालाई पनि केन्द्रमा जस्तै प्रदेशमा पनि आफू बलियो हुनुपर्छ भन्ने छ । अहिले देउवा,कोइराला र निधि पक्षका केही केन्द्रीय नेताहरु पनि प्रदेश २ मा समीकरण मिलाउन पुगेका छन् ।उम्मेदवारको मनोनयन दर्ता आजै हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्