
कञ्चनपुर । १५ बुँदे घोषणापत्र जारी गर्दै कञ्चनपुर सम्मेलन सम्पन्न भएको छ ।
भीमदत्त नगरपालिकाको आयोजनामा गरिएको सम्मेलनले जलवायु परिवर्तनको असरबाट जोगिन, विपद्को जोखिमलाई न्यूनिकरण र व्यवस्थापनका लागि १५ बुँदे घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय नीति तथा कार्यक्रमहरूलाई स्थानीयकरण र कार्यान्वयन गर्ने, जलवायु अनुकूलन र विपद्पूर्व तयारी तथा प्रतिकार्यको लागि तदनुसार स्थानीय नीति योजना र मापदण्ड तयार गर्ने तथा जलवायु विपद् कोषको व्यवस्था गर्ने र जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरणको योजना निर्माण तथा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ ।
यस्तै, जलवायुमैत्री ग्रामीणा र शहरी विकासका लागि भू–उपयोगी नीति योजना कार्यान्वयन तथा खाली भूमिमा जलवायुमैत्री कृषिलाई प्रोत्साहन गरी उत्थानशील र दिगो बसोबासलाई प्रवर्द्धन गर्ने, विपद् जोखिम न्यूनीकरणका लागि खुला ठाउँको पहिचान र संरक्षण प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना र समुदायको पहुँच अभिवृद्धि गर्ने, स्थानीय स्तरको सम्भाव्य जोखिमलाई मध्यनजर गर्दै स्रोत साधनको पहुँच सुनिश्चित गर्ने र सामुदायिक विपद् व्यवस्थापन समितिहरूको क्षमता अभिवृद्धि गरी प्रभावकारी रूपमा परिचालन गर्ने प्रतिवद्धता जनाइएको छ ।
यसैगरी, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जनशक्ति उत्पादन तथा खोज अनुसन्धानको विकास गर्ने, जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी विषयहरूलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने, जलवायु परिवर्तनले जलस्रोत, उर्जा, सिंचाइ, कृषि, पशुपालन, वन, जैविक विविद्यता, उद्योग तथा पर्यटन क्षेत्रमा पारेको असर कम गर्न एकीकृत योजना निर्माण, कार्यान्वयन र संयुक्त अनुगमन गर्ने, स्थानीय विकासका योजनाहरू निर्माण तथा कार्यान्वयनको क्रममा वातावरण तथा जलवायु संवेदनशीलता, लैगिंक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने र हरितगुह ग्यास उत्सजर्न कटौतीका लागि सफा उर्जाको प्रयोग तथा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने उल्लेख छ ।
त्यस्तै, विपद्जन्य घटनाहरूको प्रतिकार्य तथा सम्बोधन र चुरे क्षेत्र संरक्षण गर्न पालिकाहरुबीच समन्वय, सहकार्य र साझेदारी गर्ने, वातावरणीय प्रदूषण रोकथामका लागि हरित नगर सफा नगरको अवधारणालाई अवलम्बन गर्ने, प्रत्येक वर्ष सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन आयोजना गर्ने प्रतिवद्धता जनाइएको छ ।
विश्वव्यापी रूपमा बढ्दो शहरीकरण, अव्यवस्थित बसोबास र सार्वजनिक स्थलहरुको अतिक्रमणसँगै शहरी क्षेत्रको विपद् जोखिमको सम्भावना बढेको छ । यसको प्रभाव कञ्चनपुरमा पनि परेको भन्दै कञ्चनपुरका सबै पालिकाका प्रमुख र उपप्रमुखले घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सम्मेलन हरेक वर्ष आयोजना गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्