
स्याङ्जा । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिकर्मीले अनुशासन पालना गर्नुपर्ने बताउनुभएको छ ।
जिल्लाको कालिगण्डकी गाउँपालिकामा अध्यक्ष कप कालिगण्डकी खेलकुद महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले खेलाडीले मात्र नभएर राजनीति गर्ने राजनीतिकर्मीले पनि अनुशासन पालना गर्नुपर्ने बताउनुभयो ।
खेलाडीहरुलाई खेलबाटै आत्मनिर्भरताको बाटोमा अघि बढाउनुपर्नेमा जोड दिँदै अध्यक्ष तिमिल्सिनाले विश्वसामु देशलाई चिनाउन खेल गतिलो माध्यम भए पनि राज्यसत्ता सञ्चालन गर्नेहरूले त्यसलाई आत्मसाथ गर्न नसकेको बताउनुभयो ।
सामुहिक खेलमा एकताविना कुनै पनि खेल सम्भव नभएको भन्दै उहाँले राष्ट्रिय एकताविना समृद्धि सम्भव नभएको बताउनुभयो । उहाँले एकताको सन्देश खेलाडीहरुबाट राजनीतिकर्मीले सिक्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका सुरु भएको महोत्सव पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्