
धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबार प्रदेश १ र बागमती विजयी भएका छन् ।
समूह ‘ए’ बाट यसअघि नै सेमिफाइनल पुगेको प्रदेश १ ले सेमिफाइनलमा स्थान पक्का गरिसकेको लुम्बिनीलाई ६७ रनले पराजित गरेको हो ।
फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश १ जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा १ सय १४ रन बनायो ।
उसका लागि अप्सरी वेगमले सर्वाधिक ४४ रन बनाईन् । टीमका लागिका काजोल श्रेष्ठले ४० रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १५ रन थपिन् ।
लुम्बिनीकी नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक–एक विकेट लिए ।
११५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो । निर्धारित ओभरमा लुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो । लुम्बिनीको पारीमा कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् ।
प्रदेश नम्बर १ का लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन् ।
यस्तै दोस्रो खेलमा बागमतीले सात्वना जित हात पारेको छ । समूह ‘ए’ अन्तर्गतको अन्तिम लिगमा बागमतीले कर्णालीलाई ७९ रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ गर्दै बागमतीले निर्धारित ओभरमा ६ विकेट क्षतिमा १ सय ३० रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले अविजित ४७ रनको पारी खेलिन् । कर्णाली प्रदेशका लागि दिव्या धामीले ३ विकेट लिइन् ।
१ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो । कर्णालीका लागि लक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाइन् । अन्य खेलाडीले दोहोरो रन अंक बनाउन सकेनन् ।
प्रतियोगिताअन्तर्गत बुधबार समुह ‘बी’का दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र विभागीय टीम एपीएफ क्लब खेल्नेछन् । बुधबारकै अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् ।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइँदैछ ।
प्रतियोगिताको विजेता टीमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिजले २५ हजार, उत्कृष्ट बलर र ब्याटरले समान १५ हजार तथा प्लेयर अफ दि म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्