२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय श्रम बजार नेपालीहरुका लागि असुरक्षित बन्दै गएको दाबी

श्रम शोषणदेखि बेपत्ता हुने समस्या बढेको भन्दै सरकारको ध्यानाकर्षण

208
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशबाट मात्र भारतमा करिब ६ लाख नेपालीहरु असंगठित तवरले काम गर्दै आएको अनुमान छ । तीमध्ये अधिकांश असुरक्षित रुपमा कष्टपुर्ण श्रम गर्दै आएको विभिन्न संस्थाले गरेको अध्ययनले देखाएको छ ।

नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकहरुको गुनासो छ । भारतमा नेपाली श्रमिक शोषणमा पर्दा पनि सरकारले उनीहरुले भोग्दै आएका दुः खको उपेक्षा गर्ने गरेको छ । भारतमा हुने श्रम शोषणमा नेपाल पक्ष मौन बसेकै कारण नेपाली श्रमिकले कष्टपूर्ण जीवन बिताउनुपर्ने र उतै बेपत्ता हुने क्रम पनि बढ्दै गएको छ । भारतमा कष्टपूर्ण श्रम गर्ने नेपालीका लागि सरकारले अहिलेसम्म कुनै प्रयास गरेको छैन् ।

भारतमा रहेका आफ्ना नागरिकप्रति सरकार पूर्णतया बेखबर भएकै कारण सुदूरपश्चिमका ४ वटा पालिकाका २ सय ८ श्रमिक बेपत्ता भएको निड्स नेपालका प्रकाश मडैले बताउनु भयो । भारत गएपछि सम्पर्कमा नआएका नेपालीको तथ्यांक संकलन गरेको गैरसरकारी संस्था निड्सका अनुसार लाखौको संख्यामा श्रमका लागि भारत पसेका नेपाली बेपत्ता हुने क्रम बढ्दै जाँदासमेत राज्यपक्षले उपेक्षा गर्दै आएको छ ।

भारतमा नेपाली श्रमिकको शोषणबारे सरकार अनभिज्ञ भएकै कारण कुटपिट, लुटपाट, बेपत्ता र हत्यासमेत हुने गरेको सरोकारवाला बताउँछन । नेपाली श्रमिक सीमा क्षेत्रमा मात्र होइन रोजगारदाताबाट समेत लुटिने गरेको नागरिक समाजका अगुवा रबिनकान्त पन्तले बताउनु भयो । नेपाली श्रम शोषणबारे दुतावाससमेत मौन बस्ने गरेको उहाँको गुनासो छ । श्रमिकको समस्याबारे थोरै संघसंस्थाले मात्रै काम गरेको बताउँदै उहाँले वर्षौदेखि भारतका विभिन्न शहरमा कष्टपूर्ण श्रम गर्दै आएका नेपाली श्रमिकको सम्मान कतैबाट पनि हुन नसकेको पन्तले बताउनु भयो ।

भारतसँग श्रम सम्झौताको व्यवस्था नभएकाले नेपाली श्रमिकले भारतमा असुरक्षित काम गर्नु परिरहेको छ । नेपालले अन्य मुलुक सरह भारतसँग पनि श्रम सम्झौता गर्नु पर्नेमा सरोकारवालाको जोड छ ।