
काठमाडौं, पुष ७ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले रासयनिक मलको विकल्पमा प्राङगारिक मल प्रयोग गर्न सुझाव दिनुभएको छ ।
मन्त्री यादवले रासायनिक मलको अभाव तत्काल समाधान गर्न तत्काल सम्भव नभएकाले प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो । रासायनिक मलको अभाव कम गर्न जिटूजी माध्यम उपयुक्त भएपनि धेरै देशलाई पत्राचार गर्दासमेत अहिले कोही तयार नरहेको उहाँको भनाइ छ । यादवले अन्तर्राष्ट्रिय बजारमा पनि मलखादको अभाव रहेकाले किसानको मागअनुसार पूर्ति गर्न नसकेको बताउनुभयो ।
यादवले पछिल्लो समय नेपालमा पशुसेवा र कृषिमा नागरिकहरुको आकर्षण बढिरहेको भन्दै कृषिलाई आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भयो । कृषिलाई आत्मनिर्भर बनाउन सरकारले २० वर्षे नीति लिएको भन्दै उहाँले निजी, सहकारी र सरकारी क्षेत्रलाई व्यवस्थित बनाएर अघि बढे सफल भइने दाबी गर्नुभयो ।
यादवले पशु चिकित्सकहरुले सरकारबाट पाउनुपर्ने कानुनी सुविधा उपलब्ध गराउन मन्त्रालयले पहल गर्ने भन्दै कृषिसम्बन्धी औषधिहरु उत्पादन गर्न प्रविधिक जनशक्ति खटाउने सोचमा सरकार रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्