
भोजपुर । दुई सय वर्षको इतिहास बोकेको देशकै टक काटने र धातुजन्य उत्पादनमा ख्याती कमाएको भोजपुरको टक्सार बजार आजभोलि सुनसान बनेको छ । संरक्षणको अभावमा यहाँका पुराना कलात्मक शैलीका मठ, मन्दिर, पाटीपौवा, बौद्ध गुम्बालगायत घरहरु अस्तित्वविहीन बन्दै गएका छन् भने सयौंको संख्यामा रहेका धातु उद्योग शिला खोज्नु पर्ने अवस्थामा पुगेका छन् ।
उद्योगमा कच्चा पदार्थको अभाव हुँदा टक्सार बजारका धातु उद्योग समस्यामा परेका हुन् । यहाँका धातु उद्योगमा करूवा, आम्खोरा, खड्कुला, कचौरा, लोटा, डाँडुपन्युका साथै मठ मन्दिरका कलात्मक देवी देवताका मूर्ति बनाउने गरिन्छ । कच्चा पदार्थ अभाव हुँदा सयौको संख्यामा सञ्चालित धातु उद्योग हाल सात वटा मात्र सञ्चालनमा छन् ।
राजतन्त्र सक्रिय हुँदा करुवामा राजारानीको फोटो राखेर बिक्री गर्ने अधिकार यहाँका उद्योगीले मात्र पाएका थिए । यसले यहाँको कालिगढी विशिष्टता झल्काउँछ । सीपमा पुस्तान्तरणको अभाव, प्रतिकूल बजार, बसाईसराई तथा कच्चा पदार्थको अभाव चर्किदै जाँदा त्यसको प्रत्यक्ष असर उद्योगमा परेको छ ।
३ दशक अघिसम्म स्थानीय गाउँघरमा रहेका खानीबाट धातु निकालेर यहाँबाट टक काटने प्रचलन थियो । पाटनबाट ल्याइएका कालिगढले टक काट्थे । यहाँका व्यवसायीहरु बसाईं सरेर सुविधाजनक ठाउँमा उद्योग सञ्चालन गर्न थालेपछि यहाँ उत्पादित सामग्रीको बजार खुम्चिएको हो ।
टक्सारका भवन, मठ, मन्दिर पाटीपौवा, लगायत भौतिक संरचना जिर्ण बनेसगैँ आन्तरिक पर्यटक भित्रिने क्रम पातलियो । मान्छे आउन कम भएसँगै व्यापार खस्कियो । कलात्मक ढंगले बनाइएका घर, मन्दिरलगायत भौतिक संरचना हाल संरक्षण गर्न सक्ने अवस्थामा नरहेको स्थानीय जनप्रतिनिधि बताउँछन् । बजारलाई पुरानै लयमा फर्काउन चुनौतीपूर्ण छ ।
देशकै सबैभन्दा पुरानो गुम्बा र ऐतिहासिक धातु उद्योगका रुपमा ख्याती कमाएको यस स्थानलाई पुरानै अवस्थामा फर्काउन र सम्पदा संरक्षणमा सबै पक्षको सक्रियता जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्