
काठमाडौं । जनसंख्याको अनुपातमा काठमाडौं उपत्यकामा घुमफिर गर्ने, मन टहलाउने ठाउँ अपर्याप्त छ । भएका खुल्ला ठाउँ पनि फोहोर र अव्यवस्थाका कारण टहल्नयोग्य छैनन् ।
काठमाडौमा रहेको ऐतिहासिक कमलपोखरी व्यवस्थित बनाइएसँगै घुमिफिर गर्न आउनेको बाक्लो उपस्थिति देखिन्छ । जाडोमा घाम ताप्ने र पढ्ने विद्यार्थीका लागि त यो पोखरी आकर्षणको केन्द्र बनेको छ ।
केही समयअघि सम्म अव्यवस्थित, फोहोर कमलपोखरी अहिले मनमोहक बनेको छ । स्वास्थ्यका लागि पोखरीको चक्कर लगाउनेदेखि सेल्फी खिच्ने किशोरकिशोरीसमेतले यो ठाउँ रोज्ने गरेका छन् ।
वरिपरि खुल्ला हुँदा पारिलो घाम ताप्न आउनेहरू पनि त्यतिक्कै भेटिन्छन् । पोखरीले नयाँ रूप पाएपछि दुर्गन्धबाट स्थानीयले मुक्ति पाएका छन् । बनेको संरचना कति दीगो होला भन्ने चिन्ता त छँदैछ । यद्यपि कमलपोखरी क्षेत्रका स्थानीय लोपोन्मुख सम्पदा बचेकोमा खुसी छन् ।
पोखरीको निर्माण अझै सकिएको छैन । तर, मानिसको भीडभाड बढ्दो छ । कतिपय विद्यार्थीले त पोखरी हातालाई पढ्ने थलो बनाएका छन् । अन्य पार्कको तुलनामा शान्त वातावरण भएकाले रोजाइमा परेको विद्यार्थी कुशल पहाडी बताउनुहुन्छ ।
महानगरपालिकाले गरेको काम तारिफयोग्य रहेको आगन्तुकहरूको मूल्याङ्कन छ । उनीहरूले अझै मर्मत गर्दै खानेपानी र शौचालयको व्यवस्था गर्न माग गरेका छन् ।
पोखरी र हाताभित्रको सरसफाई पहिलो र अन्तिम शर्त हो । मानिसको भीडभाड हुने यस स्थानमा आगन्तुकहरूले शौचालय र शुद्ध पानीको व्यवस्था नभएको भन्दै गुनासो गर्ने गरेका छन् । यसतर्फ महानगरको ध्यान जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्