१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नियम पालना नगर्ने सवारीसाधनबाट ३५ लाख जरिवाना


0
Shares

काठमाडौं, माघ १९ । चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट ३५ लाख रुपैयाँ जरिवाना गराएको छ ।

विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो ।

विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनका अनुसार काठमाडौं उपत्यका र नाकासम्म पुगेर अनुगमन गरिँदै आएको छ ।

उपत्यका बाहिर पुग्न नसकिए पनि उपत्यकाभित्र नियमितरूपमा अनुगमन भइरहेको छ । विभिन्न माध्यमबाट आएका उजुरी र गुनासोका आधारमा समेत अनुगमन भइरहेको उनले बताए । उनले भने,

“हामीले सूचनाका आधारमा र आफैँले पनि उपयुक्त स्थान छानेर नियमितरूपमै अनुगमन र कारवाही गरिरहेका छौँ ।” विभागको जिम्मेवारी सडक नियमको पालना गराउने भए पनि जनशक्ति कमीलगायतका कारण विभागभन्दा ट्राफिक प्रहरी सडक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिरहेको देखिन्छ ।

ट्राफिक प्रहरीले सवारी साधनले गल्ती गर्दा कारवाही गरे पनि नियमितरूपमा सडकमा अनुगमन कम गरेको यात्रुले गुनासो गर्दै आएका छन् ।

विभागमा सडक अनुगमनका लागि पर्याप्त जनशक्ति नभएको महानिर्देशक हमालले बताए । सवारी ऐनले सडक नियमको नियमन र आवश्यक कारवाहीको अधिकार ट्राफिक प्रहरी र विभाग दुवैलाई दिएको छ ।

नयाँ संरचनाअनुसार प्रदेश र स्थानीय तहलाई पनि सडक नियम पालना गराउने अधिकार दिइएको छ । रासस