१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रीआवास निर्माणको अवरोध हटाउन संसदीय समितिले निर्देशन दिने


78
Shares

काठमाडौं, पुष ९ । संसदीय समितिले भैंसेपाटीमा निर्माणाधीन मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई निर्देशन दिने भएको छ ।

राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको बैठकले आवास निर्माणस्थलमा देखिएका अवरोध हटाउन निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको तर एकातिर ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने स्थानीयले माग गरेका छन् । स्थानीयको माग सम्बोधन हुने गरी सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिन लागिएको समितिकी सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।

बैठकमा स्थानीय मोहन खरेलले स्थानीयलाई न्याय हुने गरी आवास निर्माणको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाटो साँघुरो हुँदा त्यसको असर स्थानीयलाई मात्रै नभई सरकारलाई पनि हुने बताउनुभयो ।

सांसद दिनानाथ शर्माले स्थानीयको मागबारे त्यहाँका स्थानीय जनप्रतिनिधिहरुसँग बुझेर समस्या तत्काल समाधान गर्नुपर्ने बताउनुभयो । सांसद चक्रप्रसाद स्नेहीले स्थानीय जनताको मागअनुसार बाटो फराकिलो बनाएर आवास निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउनुभयो । सांसद कविता बोगटीले आवास निर्माणमा देखिएको अवरोध हटाउनका लागि स्थानीयको भन्दा पनि स्थानीय तहका जनप्रतिनिधिहरुको राय लिन उपयुक्त हुने धारणा राख्नुभयो ।