
काठमाडौं, पुष ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घर भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने बताउनुभएको छ ।
कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको उहाँको भनाई छ । शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भुसालले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुने बताउनुभयो । पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतमा नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
यसैबीच सरकारले विद्युत व्यापार कम्पनी खडा गरेको मन्त्री भुसालले जानकारी दिनुभयो । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीलाई सरकारले बिजुली व्यापारको लागि अनुमति पनि दिएको उहाँको भनाइ छ । प्राधिकरणले सहायक कम्पनीका रूपमा एनपीटीसीलाई २०७३ फागुन २४ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेको थियो । अब विद्युत व्यापार लाइसेन्स जलविद्युतको लाइसेन्स जस्तो नहुने मन्त्री भुषालको भनाई छ ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशभर विद्युतको लोड बढेकोले काठमाडौंमा बिजुली गइरहेको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण घिसिङले जाइकाको १ सय ५० मिलियनको फन्ड आइरहेको भन्दै काठमाडौं र पोखराका प्रमुख क्षेत्रमा अण्डराउण्ड केवलिङ गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्