
बागलुङ । बागलुङ कला, संस्कृति र धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न जातजातिको बसोबास रहेकाले अनगिन्ती संस्कार र संस्कृति छन् । तर, पछिल्लो समय कतिपय परम्परा संरक्षणको अभावमा लोप हुँदै गएका छन् ।
यहाँका कतिपय संस्कृतिहरू अन्धविश्वास र कुरीतिसँग मिल्दाजुल्दा छन् । र पनि यस्ता परम्परालाई विभिन्न समुदायहरूले संरक्षण गर्दै आइरहेका छन् ।
सूचना प्रविधिको विकास भए पनि समाजमा धामी झाँक्रीको प्रचलन अझै कायमै छ । जिल्लाको निसीखोला गाउँपालिका–४ झिम्पामा धामी झाँक्रीसँग मिल्दोजुल्दो एउटा पर्व छ । जसलाई स्थानीयले देवाली पर्वको रूपमा मनाउँदै आएका छन् ।
हरेक ३/३ वर्षमा मनाइने यो पर्व विशेषगरी मगर, ब्राह्मण, क्षेत्री र दलित समुदायले मनाउने गर्छन् । यो पर्व खास गरी २ दिन हुने गर्छ । पर्वको पहिलो दिन जागन मनाइन्छ ।
यस दिन गाउँको मन्दिरमा पुजा आजा गर्ने र धामी काम्ने गर्छन् भने दोस्रो दिने मन्दिरदेखि नजिकै रहेको बराहथानमा धामीहरू काम्दै पुज्छन् र त्यहाँ बोका भेडाको बली दिइने गरेको स्थानीय रुद्रप्रसाद पौडेल बताउनुहुन्छ ।
स्थानीयहरूले आफ्ना नातागोतालाई निम्तो गर्ने र भव्य रूपमा मनाउने गर्छन् । यो पर्व पुर्खौंदेखि मनाउँदै आएको र यसले अहिलेसम्म निरन्तर पाएको छ । यो पर्वले वर्षौंदेखि छुटेका आफन्त इष्टमित्रसँग भेटघाट हुने र आत्मियता पनि बढाएको देखिन्छ । यो पर्वमा दजनौं बोका भेडाको बली चढाइन्छ ।
नव विवाहित जोडी, पुत्रलाभ भएका परिवार र भाकल गरेकाहरूले यहाँ भेडा बोकाको बली चढाउने गर्दछन् । यहाँ पूजा आजा र बली चढाउँदा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुहुन्छ ।
यसरी चाडपर्व मनाउनुले संस्कार संस्कृतिको जगेर्ना पनि गरेको छ । प्रविधिको विकासले परम्परादेखि मनाइँदै आएका संस्कार संस्कृति हराउँदै गएका छन् । त्यसैले पहिचान बोकेका संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्