
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबलाई ३—१ गोल अन्तरले हराउँदै शेर्पाले लिगमा दोस्रो जित निकालेको हो ।
खेलको २५औं मिनेटमा शेर्पाका लागि मुतम्बा भ्युनयोलिले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । ५६औं मिनेटमा मुतम्बाले पुनः गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे ।
यस्तै, च्यासलका लागि ७५औं मिनेटमा रूमेस बर्तौलाले सान्त्वना गोल गरे । उनले राजिव लोप्चनको पासमा गोल गरेका थिए ।
शेर्पाका लागि खेलको ८०औं मिनेटमा सुरेश कुमालले तेस्रो गोल गरे ।
जितसँगै शेर्पा लिगमा ६ खेलबाट ८ अंक जोड्दै तालिकाको छौठौं स्थानमा उक्लिएको छ । पराजित च्यासल समान खेलबाट ४ अंक जोड्दै रेलिगेसन जोनमा छ ।
प्रतिक्रिया दिनुहोस्