५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


आत्मनिर्भर बन्न सामूहिक बाख्रापालन गर्दै कृष्णपुरका महिलाहरु ‍‍‍(भिडियो )


91
Shares

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर-२ का महिलाहरु आत्मनिर्भर बन्न सामूहिक बाख्रापालनमा जुटेका छन् । कोभिडका कारण वैदेशिक रोजगारमा गएका श्रीमानको रोजगारी गुमेपछि उनीहरुले गाउँमै समूह गठन गरेर बचत तथा सामूहिक बाख्रापालनमा जुटेका हुन् ।

कञ्चनपुरको कृष्णपुर-२ बण्डका महिलाहरु आफ्नै समूदायमा समूह बनाएर बाख्रापालनमा लागेका छन् । श्रीमानले कमाएको पैसाले घरखर्च चलाउन र छोराछोरी पढाउन समस्या हुन थालेपछि उनीहरुले आत्मनिर्भर बन्नका लागि गाउँमा आफ्नो छुट्टै समूह बनाएर बचत तथा सामूहिक बाख्रापालन सुरु गरेका हुन् ।

श्रीमान वैदेशिक रोजगारमा रहेका २० जना महिलाले सुरुवाती दिनमा मासिक एक सयका दरले बचत गर्दै समूह बनाएका थिए । निड्स नेपालको सहयोगमा व्यवसायिक बाख्रापालन तालिम लिएपछि अहिले आफूहरु व्यवसायिक बाख्रापालनमा लागेको शान्ती आप्रावासन महिला समूहका अध्यक्ष भावना धामी बताउनुहुन्छ ।

समूहमा आवद्ध भएसँगै न्यूनदरमा पाइने व्याजदरले आकस्मिक दूर्घटना तथा अन्य समस्याहरु सामना गर्न सजिलो भएको छ । साथै बाख्रा बेचेर उनीहरु आर्थिक रुपमा पनि सशक्त हुन थालेका छन् । त्यतिमात्रै होइन, सरकार तथा संघसंस्थाहरुले पनि महिलाहरुलाई लक्षित गर्दै खालका कार्यक्रमहरु ल्याउने गरेकाले उनीहरुमा थप हौसला मिलेको छ ।

समूहमा आवद्धहरुले प्रत्येक परिवार ८ देखि १० वटासम्म बाख्रा पालेका छन् । एउटा बाख्राबाट दशदेखि पच्चीस हजारसम्म फाईदा हुने उनीहरुको भनाई छ । समूहमा आवद्ध भएसँगै आफूलाई एक्लो महशुस गर्न नपरेको र आर्थिक रुपमा सबल भएको समूहका सचिव जानकी रोकायाको भनाई छ ।

उता, एकातिर निम्न आर्थिक अवस्था, अर्कातिर श्रीमानले वैदेशिक रोजगारबाट पठाएको पैसाको भरमा घर चलाउनुपर्ने बाध्यता । त्यसमा लकडाउनका कारण श्रीमानको जागिर समेत गुमेपछि उनीहरुलाई घरखर्च चलाउन निकै समस्या पर्यो । जसले गर्दा समूदायका महिलाहरु आपसमा मिलेर आत्मनिर्भर बन्ने उपाय खोज्दै समूहमा आवद्ध भए । नजिक वन भएकाले व्यवसायिक बाख्रापालनबाट आफूहरुलाई फाइदा भइरहेको समूहका सदस्य हंसादेवि महराले बताउनुहुन्छ ।

पछिल्लो समय कञ्चनपुरमा आत्मनिर्भर बन्न महिलाहरु व्यवसायिक खेती तथा पशुपालनतर्फ आकर्षित भएका छन् । तर राज्यबाट पाउने सहुलियतमा भने अझै पनि उनीहरुको पहुँच पुग्न सकेको देखिदैन । त्यसैले सरोकारवालाको त्यसतर्फ ध्यान जाओस् ।

भिडियो :