
कैलाली । विभागीय टीम एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा पुरा गर्यो ।
एपीएफका लागि ओपनर ज्योती पाण्डेयले अविजित ३७ रन बनाईन् । ममता चौधरीले १७ रन थपिन् । ७ रनमा दुई विकेट गुमाएर दबाबमा आएको एपीएफलाई ज्योती र ममताले जितसम्म डोराएकी हुन् । प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिईन् ।
यसअघि एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि प्रदेश १ ले ब्याटिङ गर्दै ६७ रन बनायो । खराब ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३४ रन बनाईन् । अप्सरी वेगमले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक जोड्न सकेनन् । एपीएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिईन् ।
प्रतियोगिता विजेता एपीएफले ५ लाख र उपविजेता प्रदेश एकले ३ लाख प्राप्त गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्