१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बालगृह दाताको भरमा, दाता नहुर्दा बालबालिका समस्यामा


0
Shares

ध्रुव भट्टराई  (ईमेज)

विराटनगर, माघ २० । मोरङको उर्लाबारी नगरपालिकास्थित नमूना बालगृहमा धेरै बालबालिकाले आश्रय पाएका छन् ।

दाताकै सहयोगका भरमा सञ्चालन भइरहे पनि दीगो र भरपर्दो स्रोत नहुँदा समस्या भइरहेको बालगृहले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिकामा अवस्थित नमूना बालगृह प्रदेश १ कै उत्कृष्ट बालगृहका रुपमा रहेको छ ।

सहयोगी र दाताकै भरमा चलेको बालगृहमा अहिले ४६ जना बालबालिकाहरु आश्रित रहेका छन् । वि.स. २०५७ सालबाट सञ्चालनमा रहेको आश्रम स्थानीय मीनादेवी बरालको अगुवाइमा स्थापना भएको हो ।

अध्यक्ष मीनादेवीले प्रदान गरेको ७० लाख रुपैयाँसहित अन्य व्यक्तिको सहयोगमा ३ करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति रहेको छ । दुईवटा पक्की भवन रहेको बलगृहलाई भारतीय दुतावासले एम्बुलेन्ससमेत प्रदान गरेको छ ।

बालबालिकाकोे खाने बस्नेदेखि पठनपाठन र औषधिउपचार खर्चसमेत आश्रमले गर्दै आएको छ ।

नर्सरीदेखि उच्च माध्यमिक तहसम्मको शिक्षा समेत उपलब्ध गराइने आश्रममा बालबालिकाहरु खुसीसाथ बसेको देखिन्छ । पछिल्लो समय जन्मदिन तथा चाडपर्व मनाउन बालगृहमा आउनेहरुले केही सहयोग गर्ने गरेका छन् ।

जसले आश्रमको आर्थिक व्यवस्थापनमा टेवा पुगेको स्थानीय यमकुमारी खड्काको भनाइ छ । बालगृह सञ्चालन गर्न वार्षिक १८ लाख रुपैयाँ खर्च हुने गरेको आश्रमले जनाएको छ ।

दाताहरुकै भरमा खर्च व्यवस्थापनमा कठिनाइ भएकाले सरकारले पनि सहयोग गर्नुपर्ने आश्रम सञ्चालकले बताउँदै आएका छन् ।