१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्लाहीमा नागरिकता बनाउन सधैँ सास्ती


260
Shares

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता लिने सेवाग्राहीको चाप बढेको छ । मंलगवास्थित जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरण गर्न दैनिक सयवटा टोकन बाँड्ने गरेको छ । टोकन अनुसार सेवा लिन जाँदा सेवाग्राहीले नागरिकताकै लागि दुई हप्ता बढी पालो कुर्नुपर्ने बाध्यता छ ।

सेवाग्राहीलाई सुरुको दिन आउँदा टोकन दिएर पठाउने गरिएको कार्यालयका सूचना अधिकारी एवं नागरिकता फाँटका प्रशासकीय अधिकृत रामनरेश रामले बताउनु भयो । टोकनको व्यवस्था भएपनि निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।

उता, प्रशासकीय अधिकृत रामले भर्ना हुनुपर्ने विद्यार्थी, विदेश जाने सेवाग्राहीलगायतलाई आएकै दिन नागरिकता जारी गरेर पठाउने गरिएको भएपनि अन्यलाई त्यही दिन नागरिकता दिएर पठाउन सक्ने अवस्था नरहेको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले दैनिक सय वटाको हाराहारीमा नयाँ र ७० वटा भन्दा बढी प्रतिलिपी नागरिकता जारी भइरहेको छ ।

दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीको चाप अनुसार नागरिकता जारी गर्न समस्या भएको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताउनु भयो ।