
कैलाली । पुस ३ गते मृत फेला परेका कैलालीका अर्जुन दासको शव आफन्तले बुझेका छन् । हत्या गरेको अवस्थामा फेला परेका जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव पोस्टमार्टमका लागि घटनास्थलबाट टीकापुर अस्पतालमा लगिएको थियो । तर आफन्तले विभिन्न माग राख्दै शव नबुझ्ने अडान राखेका थिए ।
उनीहरुले राखेका माग सम्बोधन गर्ने सहमतिपछि हत्या भएको १० दिनपछि आज आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताउनु भयो ।
हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्च शिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षा लगायत ८ बुँदे माग पीडित पक्षले राखेका थिए ।
पुस २ गते शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा भोलि पल्ट स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए ।
हत्यामा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्