१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


भरतपुर अस्पतालमा आजदेखि चौबिसै घण्टा डायलेसिस सेवा


0
Shares

भरतपुर, माघ २० । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो ।

सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताए ।

सो अवसरमा उनले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताए । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उनले बताए ।

सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा. प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले अस्पतालमा मूत्ररोग विशेषज्ञको व्यवस्था हुन सकेमा बिरामीले थप सेवा पाउनेमा जोड दिए ।

भरतपुर अस्पतालमा डायलेसिस सेवा निजीको भन्दा उत्कृष्ट भएपछि बिरामीको पहिलो रोजाइ यहाँ हुने गरेको छ । जसका कारण बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अस्पतालमा वि.स. २०७४ साल भदौ ११ गतेबाट निःशुल्क रुपमा डायलेसिस  सेवा शुरु गरिएको हो ।

गत आर्थिक वर्षमा ६ हजार एक सयपटक र चालु आवको ६ महिनामा तीन हजार २३० पटक विभिन्न बिरामीको डायलेसिस गरिएको उनले जानकारी दिए । अस्पतालमा रहेका १२ वटा डायलेसिस उपकरणमध्ये १० वटा सञ्चालनमा रहेका छन् ।

सरकारले मिर्गौलाको डायलेसिस  सेवा निःशुल्क गरेको छ । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछ । रासस