१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


एचआइभी सङ्क्रमित परिवारको स्वास्थ्य बीमा


0
Shares

भरतपुर, माघ २० । भरतपुर जिल्लामा रहेका एचआइभी सङ्क्रमित परिवारको स्थानीय तहहरुले निःशुल्क स्वास्थ्य बीमा गर्न थालेका छन् ।

हालसम्म एक सय २८ घरपरिवारको स्वास्थ्य बीमा भइसकेको छ । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका प्रमुख कृष्णहरि सापकोटाका अनुसार जिल्लामा रहेका सातवटै स्थानीय तहले सङ्क्रमितहरुको स्वास्थ्य बीमा गरेका हुन् ।

स्वास्थ्य बीमा गर्नेमा भरतपुर महानगरपालिका र माडी नगरपालिकाका धेरै छन् । चालु आवकोे जेठ मसान्तभित्र सबै सङ्क्रमितको स्वास्थ्य बीमा गर्ने उद्देश्यका साथ सेन्टर लागेको सापकोटाले जानकारी दिए ।

गत आ.व. बाट सङ्क्रमित परिवारको बीमा गर्न थालिएको थियो । एकै परिवारमा चारजनासम्म सङ्क्रमित हुने गरेकाले सङ्क्रमितहरुको सङ्ख्या अनुसारको परिवारको सङ्ख्या कम रहेको छ ।

जिल्लाका सबै तहले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा आफूलाई मात्रै नभएर परिवारलाई समेत फाइदा भएको सङ्क्रमित रामवहादुर थापा (नाम परिवर्तन) ले बताए ।

आफ्नो कमाई नहुँदा बीमा गर्न कठिन भएको र स्वास्थ्य परीक्षणका क्रममा समेत समस्या आउने गरेको भन्दै उनले अहिले सबै परीक्षण बीमामार्फत गर्दै आएको बताए ।

अस्पतालमा रहेको सेन्टरबाट ९ सय ३८ जनाले एआरटी औषधि सेवन गर्दै आएका छन् । रासस