
काठमाडौं । नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनबाट मुल नेतृत्व बाहेक अन्य पदाधिकारीमा युवा पुस्ताको उल्लेख्य उपस्थिति रहेको छ ।
सभापतिपछिको प्रमुख कार्यकारी पद महामन्त्रीमा युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्माको आगमनले कांग्रेसमा आमुल परिर्वतनको अपेक्षा गरिएको छ ।
६ दशक उमेर नाघेकालाई युवा नेता मान्ने नेपाली कांग्रेसको प्रचलन विपरीत युवाहरूको प्रवेश पार्टी जीवनका लागि क्रान्तिकारी सावित हुन्छ या अघिल्लो पुस्ताकै नेताको आज्ञाकारी भन्ने द्विविधा रहेको छ ।
संसदीय राजनीतिका माहिर खेलाडीको रूपमा परिचित कांग्रेस सभापति शेरबहादुर देउवा पुनः नेतृत्वमा दोहोरिनुभएको छ । पार्टी विधानले नै सभापतिलाई शक्तिशाली भूमिका दिएको छ ।
नेपाली कांग्रेसमा सभापति सर्वेसर्वा हुने विगतको परम्परा मात्र होइन, संशोधित पार्टी विधानले समेत त्यो भूमिकालाई शक्तिशाली अधिकार प्रत्यायोजन गरेको छ ।
विधानले सभापतिलाई सिंगो पार्टी सञ्चालन, राजनीतिक तथा सांगठनिक निर्णय लगायत विधिन्न १६ वटा शक्तिशाली अधिकार दिएको छ ।
सभापति देउवाको स्वभाव, कार्यशैली र विधानले दिएको अधिकार हेर्ने हो भने महामन्त्रीद्वय थापा र शर्मासँगै महाधिवेशनबाट निर्वाचित अन्य युवा नेताहरूले अपेक्षा गरेअनुसार काम गर्न सक्लान् भन्ने बहस सुरु भएको छ ।
हुन त महाधिवेशनका मतदाताले महामन्त्रीद्वय थापा र शर्माका विगतका गतिविधि र प्रदर्शन गरेको क्षमताका आधारमा मत दिएका हुन् । महामन्त्री लगायत निर्वाचित युवा नेताहरू विगतमा प्रश्न गर्ने ठाउँमा थिए भने अब प्रश्नको उत्तर दिने ठाउँमा छन् ।
महामन्त्रीद्वयले क्षमता प्रदर्शन गर्ने समय बल्ल आएको छ । अपेक्षाअनुसार क्षमता प्रदर्शन गर्न नसक्ने हो भने युवा नेताहरू पनि पुरानै नेतृत्वसँग लत्रिनुको विकल्प छैन । महाधिवेशनमा मतदाताहरूले पुरानो र नयाँ पुस्तालाई समेट्ने गरी सुझबुझसाथ नै मतदान गरेका छन् ।
मतदाताको अपेक्षा अनुसार पुरानो पुस्ताले कार्यशैलीमा सुधार र नयाँ पुस्ताले आमुल परिर्वतनको चाहना सम्बोधन गरेर अगाडी बढाउन सक्छन् या कांग्रेस फेरि पनि पुरानै ढर्रामा जान्छ प्रतिक्षाको विषय बनेको छ ।
प्रतिक्रिया दिनुहोस्