
सर्लाही । इलाका प्रहरी कार्यालय, ईश्वरपुरको प्रहरी भ्यानकाे ठक्करबाट स्थानीय व्यापारीको मृत्यु भएपछि सर्लाहीका स्थानीयले प्रहरी भ्यानमा आगो लगाइदिएका छन् ।
व्यापारीको मृत्युपछि बन्द रहेको बजार खुलाउन र स्थति सामान्य बनाउनका लागि आएको इलाका प्रहरी कार्यालय, हरिपुरको बा १ झ ७४८२ नम्बरको भ्यानमा स्थानीयले आगो लगाइदिएका हुन् ।
हरिपुरबाट आएको प्रहरीको भ्यान ईश्वरपुर नगरपालिकाको कार्यालयमा राखिएको थियो । आक्रोशित स्थानीयले नगरपालिका कार्यालयमै पुगेर भ्यानमा आगो लगाएका हुन् ।
भीड नियन्त्रण गर्न प्रहरीले २५ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शनमा पाँच प्रहरीसमेत घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका-५ घर भएका रामकुमार महतोलाई आइतबार राति नगरपालिकाको वडा नम्बर ७ स्थिति नगरपालिका कार्यालयको दक्षिणतर्फ भ्यानले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । पसल बन्द गरेर मामाघर जान लागेका महतोको दुर्घटना भएको प्रहरीले स्वीकारेको छ ।
घटना राति नै भए पनि परिवारलाई भने विहान मृत्यु भएपछि मात्र खबर गरिएको थियो । प्रहरीले घटना ढाकछोप गर्न लागेको भन्दै उद्योग वाणिज्य संघ, ईश्वरपुर र स्थानीयले बजार बन्द गरेर प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका छन् ।
ईश्वरपुरमा सोमबार विहानैदेखि इलाका प्रहरी कार्यालय, बरहथबाका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर यादव, जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरी लगायत नेतृत्वको टोली समेत परिचालन गरिएको छ ।
त्यस्तै सशस्त्र प्रहरी बलको समेत दर्जनौं सुरक्षाकर्मी खटाइएको छ ।
प्रतिक्रिया दिनुहोस्