१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सांसदहरू भन्छन्- ‘भिजिट भिसामा गएर विदेशमै बस्दा नेपालीले दु:ख पाए, कडाइ गर्नुपर्छ’


832
Shares

काठमाडौं । सांसदहरूले भिजिट भिसामा विदेश जानेहरूप्रति कडाइ गर्न सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतकाे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले भिजिट भिसामा विदेश जाने र उतै बस्ने प्रचलन बढ्दा नेपालीले दुःख पाउने गरेको भन्दै यसमा कडाइ गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद रामेश्वर राय यादवले भिजिट भिसाको नाममा विदेश जानेहरूले कानूनी व्यवस्थापन राम्रो नहुँदा दुःख पाउने गरेको बताउनुभयो ।

विदेश जान सहज नहुँदा भिजिट भिसामा विदेश जानेहरू बढेको भन्दै उहाँले विदेश जान नै सहज बनाउनुपर्ने बताउनुभयो । विदेश जान सहज नहुँदा विभिन्न खालका अपराधिक घटना घट्ने गरेको उहाँको भनाइ छ ।

सांसद अमृतादेवी अग्रहरीले योग्य नागरिक मात्र विदेश जानु वेश हुने धारणा राख्नुभयो । भाषा तथा कामको प्रशिक्षण दिएर विदेश पठाउनुपर्ने उहाँको भनाइ छ ।

विदेश पुगेका नेपाली कामदार दूतावास र घरमा समेत सम्पर्क गर्न नपाउने सम्मको अवस्था हुने गरेको भन्दै उहाँले सहज रूपमा सम्पर्क गर्नसक्ने ग्यारेन्टी हुनुपर्ने बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले क्षमतावान कामदार पठाउन नसक्दा वैदेशिक रोजगारको व्यवसाय नै धरापमा परेको बताउनुभयो ।

स्वदेशमा रोजगारी सिर्जना गर्न नसक्दा वैदेशिक रोजगारीलाई नै प्रश्रय दिनुपर्ने अवस्था रहेकाे उहाँकाे भनाइ छ ।

व्यावसायिक कामदारलाई विदेश पठाउन सक्नुपर्ने सचिव अर्यालले बताउनुभयाे । मन्त्रालयले सातै प्रदेशमा तालिम केन्द्र सञ्चालनकाे तयारीमा रहेकाे पनि उहाँले जानकारी दिनुभयो ।

सचिव अर्यालले भिजिट भिसालाई व्यवस्थित गर्न यससँग सम्बन्धित सरकारी निकायहरू गृह मन्त्रालय, अध्यागमन विभाग, नेपाल प्रहरी, परराष्ट्र मन्त्रालय, पर्यटन, श्रम मन्त्रालयलगायतका उच्च पदाधिकारीहरू बसेर देखिएका विकृति र विसंगति हटाउनुपर्नेमा जाेड दिनुभयाे ।