
काठमाडौं । नारायणहिटी संग्रहालय घुम्न आएकी ८४ वर्षीया वृद्धाको मनभरी जिज्ञासा छ । राजपरिवार कसरी मारिए ? किन मारिए ? कसले मा¥यो ? जस्ता प्रश्नको सटिक उत्तर त छैन । तर ती प्रश्नको तलतल मेटाउने थलो संग्रहालय बनेको छ ।
कोरोना महामारीमा सेलाएको नारायणहिटी संग्रहालयमा अहिले चहलपहल बढेको कारणमध्येको एक राजपरिवारको हत्याको जिज्ञासा पनि हो । काठमाडौं उपत्यका र उपत्यकाबाहिरबाट आउनेको मात्र होइन, विदेशबाट आउनेको पहिलो रुचि नारायणहिटी दरबार संग्रहालयको अवलोकन हुने गरेको छ ।
विशेष गरी दरबार हत्याकाण्डको रहस्य बुझ्न खोज्ने उमेर समूहका दर्शकहरूको यहाँ बाक्लो उपस्थिति देखिने गरेको छ । ज्येष्ठ नागरिकमा त झन् संग्रहालयप्रति छुट्टै छाप छ । त्यहाँको दृश्य हेरेर त्यो अकल्पनीय घटना स्मरण गर्ने हुटहुटी उनीहरूमा देखिन्छ ।
संग्रहालय प्रशासन नागरिकको उपस्थितिबाट उत्साही छ । संग्रहालयका कार्यकारी प्रमुख भेषराज दाहाल, लकडाउनपछि दैनिक सात सयभन्दा बढी सर्वसाधारण नारायणहिटी घुम्न आउने गरेको बताउनुहुन्छ । शनिबारको दिन भने यो संख्या १ हजारसम्म पुग्ने गरेको छ ।
संग्रहालयमा विद्यालयका विद्यार्थी, स्थानीय मानिस र सार्क राष्ट्रका पर्यटकहरुको बढी भीड देख्न सकिन्छ । युरोप, अमेरिका र अन्य देशमा पर्यटकको संख्या नगन्य रहेको दाहाल बताउनुहुन्छ । राजपरिवारको हत्या भएको स्थान श्रीसदन सर्वसाधारणका लागि खुला गरेपछि धेरै मानिसको भीड त्यहाँ लाग्न थालेको उहाँको भनाइ छ ।
राजारानीको निजी निवास होस् वा राजपरिवारले भोग चलन गर्दै आएको सामग्री नै किन नहोस् सबैले चासो र जिज्ञासाका साथ संग्रहालय अवलोकन गर्ने गरेका छन् । संग्रहालय घुम्न पाउँदा विदेशी पर्यटक उत्साही हुँदा रहेछन् ।
संग्रहालयको उत्पति वियोगान्तबाट सुरु भएकाले कतिपय अवलोकनकर्ताको मन चसक्क हुँदो रहेछ । संग्रहालय घुम्न आएकी एक वृद्धा र महिला राजपरिवारको मृत्युले अझै पनि भावुक भए । आफूलाई राजा वीरेन्द्र बुवाझैं लाग्ने बताउने महिला बोल्दाबोल्दै भक्कानिइन् ।
संग्रहालयको दृश्यसँगै हत्याकाण्डको रहस्य सुल्झिए धेरै नेपालीले राहत महसूस गर्ने थिए । यसले यो सम्पदाको महत्व थप बढ्ने थियो ।
प्रतिक्रिया दिनुहोस्