१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


संक्रामक बन्दै ओमिक्रोन, नेपाल कति जाेखिममा ?


2.379k
Shares

काठमाडौं । सन् २०१९ देखि विश्वभर देखा परेको कोरोना भाइरस म्युटेसन भएर नयाँ-नयाँ स्वरूपमा फैलिँदै गएको छ । २ वर्षदेखि विश्वलाई आक्रान्त पारिरहेको भाइरसका नयाँ ओमिक्रोन भेरियन्ट झन तीव्र रूपमा फैलिँदै गएको छ ।

यसअघि देखिएका भेरियन्ट भन्दा छिटो फैलिएको ओमिक्रोनले दिनहुँ रेकर्ड तोड्दै गएको छ । जसले अबको केही समयपछि नेपालमा समेत संक्रमण बढ्ने आँकलन गरिएको छ ।

करिब एक महिनाअघि देखिएको ओमिक्रोन नेपालसहित एकसय भन्दा बढी देशमा फैलिसकेको छ । दक्षिण अफ्रिकाबाट देखिएको यो भेरियन्ट बेलायत, इटाली र फ्रान्समा निकै उच्च गतिमा फैलिएको छ ।

ती देशमा दिनहुँ रेकर्ड तोड्दै ओमिक्रोन संक्रामक रूपमा फैलिएको छ । अमेरिका, चीन, बेल्जियम, अफ्रिकालगायका देशमा संक्रमण बढ्दो क्रममा छ । छिमेकी देश भारत र चीनमा समेत संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा १ सातामा १० गुणा बढी संक्रमण फैलिसकेको छ । जसका कारण भारतले रात्रीकालिन कर्फ्यू लगाइसकेको छ । नेपालमा समेत हालसम्म तीन जनामा संक्रमण पुष्टि भएको छ । भारतमा संक्रमण बढ्न थालेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ ।

संक्रामक रोग तथा क्रिटिकल केयरका चिकित्सक डा. प्रभात अधिकारी भारतमा संक्रमण बढिरहेको समयमा नेपालले कुनै सावधानीको उपाय नअपनाए विभिन्न माध्यमबाट नेपालमा संक्रमण फैलन सक्ने देखिएको बताउनुहुन्छ ।

हालसम्म फैलिरहेको डेल्टा भेरियन्टभन्दा कम खतरनाक मानिएको ओमिक्रोन भेरियन्ट जति सक्दो छिटो संक्रमण फैलिन्छ, त्यति नै छिटो संक्रमण देखिएमा लक्षण देखिन्छ ।

सजिलैसँग संक्रमण फैलनसक्ने क्षमता राख्ने ओमिक्रोनले पुनः संक्रमण गराउने क्षमता पनि उच्च रहेकाे छ । खोप लगाए पनि संक्रमण फेरि हुनसक्ने डा. अधिकारी बताउनुहुन्छ ।

युर्निभर्सिटी अफ हङकङको एक अध्ययनले समेत डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिमा फैलिने देखाएको थियो । सामान्य रुघाखोकी र ज्वरो समेत नदेखिँदै संक्रमण देखिने र फोक्सोमा कम असर गर्ने जनाइए पनि अस्पताल भर्ना गर्नुपर्ने बिरामीमा अक्सिजन र भेन्टिलेटर चाहिने चिकित्सकहरू बताउँछन् ।

ओमिक्रोनका कारण मृत्यु हुनेको संख्या निरन्तर बढिरहेकाले कम घातक हो वा होइन भन्ने पुष्टि भइनसकेको संक्राकम रोग विशेषज्ञ डा. अधिकारी‍काे‍ भनाइ छ ।

नेपालमा ओमिक्रोन कत्तिकाे घातक रूपमा फैलिन्छ अहिले नै भन्न सकिने अवस्था छैन । विज्ञहरूले रोग फैलिएको देशमा हवाई सेवा नखोल्न र नाकामा कडाई गर्न सुझाव दिएका छन् ।